भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष उत्कृष्ट पालिका घोषित

भरतपुर महानगरपालिका लगातार तेस्रो वर्ष उत्कृष्ट पालिका घोषित

चितवन । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशभरकै उत्कृष्ट पालिका बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर पहिलो स्थानमा आएको हो।

यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट घोषित भएको हो। महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ मा स्थानीय तहलाई प्रदान गर्ने कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान वृद्धि गर्नेछ।

आयोगले विभिन्न १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको थियो। खर्च व्यवस्थापन, बेरूजु स्थिति, लेखा परीक्षणको निष्कर्ष, स्थानीय सञ्चित कोषको व्यवस्था, आवधिक योजना निर्माण, राजस्वको व्यवस्थापन लगायतका सूचकमा भरतपुरले उत्कृष्ट प्रदर्शन गरेको छ।

मूल्यांकनअनुसार भरतपुर महानगरले ७६.२ प्रतिशत, विराटनगरले ७३.५ प्रतिशत, ललितपुरले ६६.७ प्रतिशत, काठमाडौंले ५४.३ प्रतिशत, पोखराले ५१.५ प्रतिशत र वीरगन्जले ४३.१ प्रतिशत अंक प्राप्त गरेका छन्। चितवन जिल्लाका सात पालिकामध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा रहेको छ।