

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन प्रक्रिया सुरु गरेको छ। निर्वाचन प्रक्रिया आज (शनिबार) बाट औपचारिक रूपमा अघि बढेको हो।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार आज मतदाता रहेका प्रदेश सभा सदस्यहरूको नामावली प्रकाशन गर्ने, त्यसमा दाबी–विरोध गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने कार्यतालिका तय गरिएको छ।
तालिका अनुसार भोलि प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्नेछ भने सम्बन्धित समितिको बैठक बसेर निर्वाचन प्रक्रिया सम्पन्न गरी मत परिणाम घोषणा गरिनेछ।
सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक संसदीय समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेका थिए, जसअनुसार आजबाट प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।