१५२ रनको लक्ष्य पायो नेपालले , ललित र सन्दीपले ३/३ विकेट चट्काए

१५२ रनको लक्ष्य पायो नेपालले , ललित र सन्दीपले ३/३ विकेट चट्काए

काठमाडाैँ, १७ भदाै ।मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धा अन्तर्गत सिंगापुरसँगको खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ । युकेएम ओभलमा टस जितेर ब्याटिङ्ग गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भयो ।

नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । यस्तै सोमपाल कामीले दुई विकेट लिएका छन् । यस्तै बसन्त रेग्मीले एक विकेट लिए । सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंककाे स्काेर बनाउन सके । सुरुवात राम्रो गर्न नसकेको सिंगापुर विरुद्ध नेपाली बलर हावी भए । पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन ।

त्यसपछि उसले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो । सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन ।

एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए । जव उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो ।