काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुपले भ्रामक र कपोलकल्पित समाचार दिने सञ्चारमाध्यमविरुद्ध कानुनी कारवाहीमा जाने चेतावनी दिएको छ । पछिल्लो समय कतिपय मिडियामा चौधरी ग्रुपका बारेमा भ्रमपूर्ण, कपोलकल्पित र गलत समाचार प्रकाशित हुन थालेपछि चौधरी ग्रुपले विज्ञप्तिमार्फत् कानुनी कारवाहीमा जाने चेतावनी दिएको हो ।
चौधरी ग्रुपले आज एक विज्ञप्ति जारी गर्दै गलत सूचना र भ्रामक समाचार फैलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । चौधरी ग्रुपद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनैतिक अभ्यासहरूले आम नागरिकको विश्वास कमजोर बनाउने र जिम्मेवार पत्रकारिताको विश्वसनीयता खल्बल्याउने काम गर्छन् । गलत स्टोरी, विकृत तथ्य र आधारहीन अफवाहहरूको जिम्मेवार समाजमा कुनै स्थान हुन सक्दैन ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो निष्ठा जोगाउन र मर्यादित पत्रकारिता कायम होस् भन्नका लागि हामी यस्ता झुटा प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउँदैछौं । चौधरी ग्रुप नैतिक व्यवसायप्रति दृढ प्रतिबद्ध रहेको छ र यसको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि कदापि स्वीकार्य हुने छैन ।’ गलत सूचना र ठगीपूर्ण गतिविधिविरुद्ध उभिन नागरिक समाज, सञ्चारकर्मी र सरोकारवालालाई चौधरी ग्रुपले आग्रह गरेको छ ।