

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध गरेको छ, जसले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने आशंका व्यक्त गर्दै विधेयक तत्काल फिर्ता लिन र सरोकारवालासँग छलफल गरेर पुन:लेखन गर्न आग्रह गरेको छ।
महासंघले राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयकलाई समाजका मौलिक हकको उल्लंघन हुने गरी अघि बढाउनु उपयुक्त नहुने ठहर गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।
सोमबार र मंगलबार काभ्रेको धुलिखेलमा बसेको महासंघको बैठकले विधेयक फिर्ता लिन र पुनःलेखन गर्न सरकार र संसदसँग माग गर्दै, सामाजिक सञ्जालको नियमन मात्र गर्ने तर प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई असर नगर्ने प्रकारका सुझाव पेश गरेको छ।
महासंघले मिडिया काउन्सिल विधेयकमा पनि आफ्ना संशोधन सुझावहरू नसमेटिएको प्रति असन्तुष्टि जनाउँदै, संशोधन गरेर मात्र पारित गर्न आग्रह गरेको छ।
साथै, महासंघले श्रमजीवी पत्रकार ऐनमा समयसापेक्ष संशोधनसहित पूर्ण कार्यान्वयन, सञ्चारमाध्यममा महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न समेत सरकारसँग माग गरेको छ।