काठमाडौं – महाकाली सन्धिअन्तर्गत रहेको पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा नेपाल र भारतका ऊर्जा मन्त्रीहरूबीच छलफल भएको छ। नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिल बीच भएको भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट) टुंग्याउने विषयमा छलफल भएको हो।
भारतको नयाँ दिल्लीमा ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन पुगेका मन्त्री खड्काले बिहीबार पाटिलसँग पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा सकारात्मक वार्ता गरेका छन्। मन्त्री खड्काले आयोजनाको डीपीआर चाँडो अघि बढाउने सहमति प्राप्त भएको जानकारी दिए।
भेटमा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको र पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिमरूप दिन सहमति भएको उल्लेख गरिएको छ। महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति पनि भएको छ।
साथै, बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औं बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि औपचारिक पत्राचार गर्ने सहमति भएको छ।
सप्तकोसी बहुउद्देश्यीय आयोजना सम्बन्धमा पनि दुई पक्षीय बैठकहरू मार्फत छलफल अगाडि बढाउने सहमति भएको छ। भारतीय जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिमरूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए।
मन्त्री खड्कासँगै सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जाविज्ञ अधिकारी, सहसचिव सन्दीपकुमार देव र अमित श्रेष्ठ सहभागी थिए।