काठमाडौं : सरकारले चालू आर्थिक वर्षको ७ महिनामा लक्ष्यको मात्र ४५ प्रतिशत राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार मुख्य २० वस्तुको आयात घट्नु र आर्थिक गतिविधि सुस्त हुनुका कारणले राजस्व लक्ष्य पूरा हुन सकेन।
डिजेल, फलामे पत्र, टायल, सुर्ती, एमएस बिलेट, वाइन, ग्यास लाइटर, स्याउ-नासपाती, भटमासको कच्चा तेल, सिमेन्ट, डण्डी, मार्बल स्लाव, लेख्ने छाप्ने कागज लगायतका वस्तुहरूबाट अपेक्षाकृत राजस्व प्राप्त नभएको मन्त्रालयले जनाएको छ।
विद्युतीय सवारीसाधनको आयात बढ्नु, उद्योग-व्यापार तथा सेयर कारोबारमा सुस्तता, कर निर्धारणविरुद्ध अदालतमा पुनरावेदनको प्रवृत्ति बढ्नु, सहकारी संस्थाको कर योगदान घट्नु लगायतका कारणले राजस्व लक्ष्य प्रभावित भएको मन्त्रालयको निष्कर्ष छ।
माघसम्म सरकारको कुल आम्दानी ६ अर्ब ३७ करोड मात्र हुँदा खर्च भने ७ अर्ब ४९ करोड पुगेको छ। चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहे पनि हालसम्म लक्ष्यअनुसार कर उठ्न नसकेको देखिन्छ।
पुससम्म भन्सार विभागले २ खर्ब २० अर्ब, आन्तरिक राजस्व विभागले २ खर्ब ६९ अर्ब, र अन्य राजस्वतर्फ ७० अर्ब संकलन गरेको छ। कुल आयकर संकलन १ खर्ब ४१ अर्ब पुगेको छ, जुन गत वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो।
सरकारले भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा आयकर संकलनलाई प्रभावकारी बनाउन आवश्यक नीति परिमार्जन गर्ने संकेत दिएको छ।