काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगको रोकथाम तथा पहिचानका लागि आजबाट सुरु भएको निःशुल्क स्क्रिनिङ अभियानलाई सफल पार्न सबैलाई आग्रह गरेका छन्।
एक सन्देश जारी गर्दै मन्त्री पौडेलले नेपालमा हुने कुल मृत्युमध्ये झण्डै तीन चौथाइ नसर्ने रोगका कारण हुने बताउँदै जलवायु परिवर्तन र सहरीकरणले यसलाई थप जटिल बनाएको उल्लेख गरे। समस्या नियन्त्रण गर्न समुदायको सहभागितामा स्वास्थ्य प्रवर्द्धन, रोकथाम र उपचारात्मक सेवाहरू व्यवस्थित गर्न आवश्यक भएकाले यो अभियान थालिएको उनले बताए।
उनका अनुसार, स्वास्थ्य संस्थाहरूको सेवा तथा उपचारको गुणस्तर वृद्धि गर्दै निरोधात्मक उपायहरूलाई बल दिने सरकारको प्राथमिकता छ। नागरिकको आधारभूत स्वास्थ्य परीक्षण तथा सचेतनाका माध्यमबाट रोग लाग्नै नदिने र प्रारम्भिक चरणमै पहिचान गरी समयमै उपचार गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारे।
स्वास्थ्य मन्त्रालयले फागुन महिनालाई नसर्ने रोग पहिचान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। ३० वर्षभन्दा माथिका व्यक्तिहरूका लागि स्थानीय स्वास्थ्य संस्थामार्फत मधुमेह, उच्च रक्तचाप, मृगौला रोग तथा शरीरको तौल–उचाइ अनुपात परीक्षण गरिनेछ। पहिचानपछि रोकथाम र व्यवस्थापनलाई प्राथमिकता दिइनेछ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यो अभियानले नागरिकलाई स्वास्थ्य अवस्थाबारे जानकारी दिने, जटिलता देखिएमा उपचारका लागि प्रेरित गर्ने तथा स्वास्थ्य नीति निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ। मन्त्री पौडेलले अभियानलाई सफल पार्न सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।