

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित केही दलहरूले आज जनयुद्ध दिवस मनाइरहेका छन्। तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र संघर्षको सम्झनामा फागुन १ गते जनयुद्ध दिवसका रूपमा मनाउने माओवादी परम्परा रहँदै आएको छ।
यद्यपि, राज्यले यो दिवसलाई मान्यता दिएको छैन। सर्वोच्च अदालतले २०७९ सालमा जनयुद्ध दिवस संविधानको भावना विपरीत रहेको ठहर गर्दै सरकारी निर्णय खारेज गरिसकेको छ। त्यसवर्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएको थियो, तर सर्वोच्च अदालतमा परेको रिटपछि उक्त निर्णय अमान्य ठहरिएको थियो।
हाल माओवादी केन्द्र प्रतिपक्षमा रहेको कारण सरकारले जनयुद्ध दिवसलाई औपचारिक मान्यता दिएको छैन। तर, माओवादीले जितेका केही स्थानीय तहहरूले भने आज सार्वजनिक विदा दिएका छन्। रोल्पाका ७, रुकुम पश्चिमका ५, जुम्लाका २, कालिकोटका ४, हुम्ला, जाजरकोट, दाङ, बर्दिया, बाँके, अछाम, धादिङ, मकवानपुर, बागलुङ, गोरखा, काभ्रे, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, भोजपुर लगायतका करिब तीन दर्जन स्थानीय तहहरूले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएका छन्।
केही स्थानमा भने स्थानीय तहको नेतृत्वमा रहेका माओवादी प्रमुखहरूले विदा घोषणा गरे पनि अन्य दलका उपप्रमुखहरूले त्यसको विरोध गरेका छन्। मेयर वा अध्यक्षले सार्वजनिक विदाको सूचना जारी गरेपछि उपमेयर वा उपाध्यक्षले अर्को सूचना जारी गर्दै विदा नदिएको जानकारी दिएका छन्।
यसअघि माओवादी केन्द्रले जनयुद्ध दिवसलाई धुमधामसँग साताव्यापी रूपमा मनाउने निर्णय गरिसकेको छ।