काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आफ्नो १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख मसान्तभित्र गर्ने भएको छ। महासचिव सुमन पुरीले बुधबार मातहतका जिल्ला कमिटीलाई सर्कुलर पठाउँदै महाधिवेशनको तयारीबारे जानकारी गराएका हुन्।
सर्कुलरमा नेकपा (एमाले) लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार सञ्चालन हुने भएकाले प्रत्येक दुई वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ। संघको ९औँ महाधिवेशन २०७९ चैतमा नेपालगञ्जमा सम्पन्न भइसकेकाले १०औँ महाधिवेशन वैशाख मसान्तभित्र गर्ने निर्णय गरिएको हो।
महासचिव पुरीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न राजनीतिक स्थिरता अपरिहार्य रहेको भन्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।
संगठनले ‘जनतासँग राष्ट्रिय युवा संघ’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। समाजमा बढ्दो अराजकता, सामाजिक सञ्जालको दुरुपयोग, युवाहरूमा निराशा फैलाउने प्रवृत्ति रोक्न तथा सामाजिक सद्भाव, सदाचार र स्वयंसेवाको भावना अभिवृद्धि गर्न विशेष स्वयंसेवक टिम निर्माण गर्ने उद्देश्यसहित चैत ९ गते काठमाडौंमा युवा स्वयंसेवक विशेष भेला आयोजना गरिनेछ।
संगठनको विधानअनुसार तीनवटा आयोग सरह विज्ञ युवा परिषद् गठन गरिएको छ, जसका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ। साथै, ४० वर्ष उमेर पूरा गरिसकेका सदस्यहरू स्वतः संघको कार्यसमितिबाट हट्ने भएकाले तीन सचिव, एक सचिवालय सदस्य, र चार जनालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरिएको छ।
प्रदेशस्तरमा कोशीमा निरोज पौडेल, मधेशमा मोविन आलम, बागमतीमा महेश चौलागाईं, गण्डकीमा पर्वत भण्डारी, कर्णालीमा शारदा पछाई, सुदूरपश्चिममा विनय शाह, र विशेष प्रदेश कमिटीमा बलराम बेल्वासेलाई इन्चार्ज तोकिएको छ। साथै, ३५ विभागका विभागीय जिम्मेवारीहरूमा पनि हेरफेर गरिएको छ।