प्रहरीमाथि कुटपिट गर्ने जोसुकै भएपनि कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

प्रहरीमाथि कुटपिट गर्ने जोसुकै भएपनि कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय सुरक्षाकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनामा संलग्न जोसुकै भए पनि छानबिन गरी कानूनी कारबाही गर्न निर्देशन दिएका छन्।

बुधबार बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूसँगको बैठकमा मन्त्री लेखकले शान्ति सुरक्षामा खलल पुग्ने घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले सुरक्षा बलमाथि आक्रमण गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउन स्पष्ट निर्देशन दिए।

मुलुकका विभिन्न स्थानमा पछिल्ला दिनमा प्रहरीमाथि कुटपिट र दुर्व्यवहारका घटनाहरू सार्वजनिक भइरहेका छन्। यसप्रति सचेत रहनु आवश्यक रहेको भन्दै गृहमन्त्री लेखकले शान्ति सुरक्षाको जिम्मेवारी पूरा गर्न सुरक्षाकर्मीलाई अझ बढी सक्रिय हुन आग्रह गरे।

“घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रिया अनुसार कारबाही गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकले भने, “समाजको सुरक्षामा खटिएका प्रहरीमाथि जाइलाग्नेलाई कुनै पनि हालतमा छुट दिन मिल्दैन।”