प्रयागराज । भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा माघ पूर्णिमा स्नान सुरु भएको छ। यस अवसरमा ठूलो संख्यामा भक्तजनहरू त्रिवेणी संगममा पुगिरहेका छन्।
मेलामा कुनै पनि अप्रिय घटना हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ। समाचार एजेन्सी एएनआईका अनुसार अतिरिक्त मेला अधिकारी विवेक चतुर्वेदीले भक्तजनहरूको ठूलो भीडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्।
“आज माघ पूर्णिमा स्नान हो। यसपालि मेलामा अनपेक्षित भीड देखिएको छ,” चतुर्वेदीले भने, “रातभरि पनि भक्तजनहरूको आगमन जारी रहने भएकाले प्रशासनले पूर्ण तयारी गरेको छ।”
उनका अनुसार जल प्रहरी घाटहरूमा तैनाथ छन्, वाच टावरहरू निर्माण गरिएको छ, र ट्राफिक डाइभर्सन लागू गरिएको छ। गत जनवरी २९ मा कुम्भ मेलाका केही स्थानमा भागदौड मच्चिएको थियो, जसमा थुप्रै भक्तजनले ज्यान गुमाएका थिए। यस्ता घटना पुनः नदोहोरियोस् भन्नका लागि प्रशासनले सतर्कता बढाएको छ।