संघीय संसद्का आठ संसदीय समितिको बैठक आज बस्दै

संघीय संसद्का आठ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आठ संसदीय समितिको बैठक आज बस्ने भएका छन्। बैठकहरू विभिन्न समय तालिका अनुसार सञ्चालन हुने संसद् सचिवालयले जनाएको छ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ।

उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा माउन्ट एभरेष्ट ब्रुअरीमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धी विषयमा छलफल गरिनेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रमहरूबारे छलफल गरिनेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १२:१५ बजे बस्नेछ। संघीय निजामती सेवाको गठन, सञ्चालन, तथा सेवाका सर्त सम्बन्धी विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १:३० बजे बस्नेछ। बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११:३० बजे बस्नेछ। बैठकमा विद्यमान निर्वाचन प्रणाली र त्यसका सम्भावित विकल्पहरूबारे छलफल गरिने संसद् सचिवालयले जनाएको छ।