आए अर्थ मन्त्रालयमा नयाँ अर्थ सचिव घनश्याम उपाध्याय

आए अर्थ मन्त्रालयमा नयाँ अर्थ सचिव घनश्याम उपाध्याय

काठमाडौं। अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्याय नियुक्त भएका छन्। उनलाई आज मन्त्रालयमा स्वागत गरिँदा, यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ।

अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उपाध्यायलाई स्वागत र घिमिरेलाई बिदाइ गरिएको हो। मन्त्रिपरिषद्को हिजोको बैठकले उपाध्यायलाई अर्थ सचिवमा नियुक्त गर्ने र घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो।

अर्थमन्त्री पौडेलको विश्वास

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव उपाध्यायको प्रशासनिक नेतृत्वमा अर्थ मन्त्रालयले राष्ट्र र जनताको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, उनले डा. घिमिरेले अर्थ सचिवको रूपमा आर्थिक अनुशासन र गतिशीलता कायम गर्न इमानदार योगदान दिएको भन्दै उनको अनुभव र ज्ञान आगामी दिनमा पनि अर्थ मन्त्रालयका लागि उपयोगी हुने बताए।

नवनियुक्त अर्थ सचिव उपाध्यायको प्रतिबद्धता

अर्थ सचिव उपाध्यायले नेपाल सरकार र अर्थमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो कार्यकालमा राजस्व वृद्धि, पूँजीगत खर्च वृद्धि, अनावश्यक खर्च कटौती, उत्पादन वृद्धि लगायतका क्षेत्रमा काम गर्दै थप लगानीका लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए।