

काठमाडौं। गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग कानूनी रूपमा सम्बन्धविच्छेद गरेकी छन्। काठमाडौं जिल्ला अदालतले आज एलिनाले हालेको सम्बन्धविच्छेद मुद्दामा फैसला सुनाएको हो।
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो, तर उनीहरूको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन। एलिनाका दाइ प्रल्हाद चौहानले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको पुष्टि गर्दै लेखेका छन्, “मेरी बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ। आजदेखि मेरी बहिनी र विष्णु सापकोटाको सम्बन्ध कानूनी रूपमा समाप्त भइसकेको छ।”
एलिनाका दाइ प्रल्हाद चौहानले सामाजिक सञ्जालमा यस्ताे लेखेका छन्
नारीमाथि अन्याय सह्य हुँदैन!
प्रकृति र नारीमाथि खेल्नेहरूको पतन निश्चित छ। बिष्णु सापकोटा, तिम्रो घमण्डले तिमीलाई बलियो देखाएको हुन सक्छ, तर सत्यलाई दवाउन सक्दैन।
मेरो बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ।
आजदेखि मेरो बहिनी Eleena Chauhan र बिष्णु सापकोटाको सम्बन्ध कानुनी रूपमा समाप्त भइसकेको छ।
तर यो सम्बन्ध विच्छेद केवल कागजको टुक्रा होइन, अन्याय र अत्याचारको अन्त्यको घोषणा हो!
आजबाट कुनै नारीमाथि हात उठाउनु अघि हजारपटक सोच!
अब नारी सहने होइन, लड्न सिकिसकेकी छन । अन्यायको प्रतिवाद हुनेछ, शोषणको अन्त्य हुनेछ!
यो कठिन घडीमा साथ, सहयोग, आशीर्वाद र हिम्मत दिने सबै भगवानरूपी दर्शक, आफन्त, नातागोता, साथीभाइलाई हृदयदेखि धन्यवाद!
साथै, आजको दिनबाट कुनै पनि मिडिया कर्मीहरूले यो विषयलाई बारम्बार उठाएर हाम्रो परिवार र एलिनालाई थप पीडा नदिनुहोला।
यो अध्याय एलिनाले समाप्त गरिसकेकी छिन्, अब उनी शान्त जीवन बिताउन चाहन्छिन्।
यो लडाइँ केवल Eleena Chauhanको मात्र होइन, हरेक नारीको सम्मानका लागि हो।
अन्याय गर्नेहरूले अब सुरक्षित महसुस गर्ने छुट पाउने छैनन्!
सम्बन्धविच्छेद प्रक्रियामा एलिनाले अंश वा मानाचामलको कुनै दाबी नगरेकाले प्रक्रिया छिटो टुंगिएको हाे। हाल अष्ट्रेलियामा बस्दै आएका विष्णुले वारेसमार्फत अदालतमा डिभोर्सको मुद्दा लडेका थिए।
सम्बन्धविच्छेदपछि गायिका एलिना चौहानले यस्ताे लेखेकी छिन्
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)