काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।
सरकारले संसद् अधिवेशन नरहेका बेला ६ वटा अध्यादेश ल्याएको थियो। त्यसमध्ये जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ। बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा जसपा नेपाल सकारात्मक रहने निर्णयमा पुगेको छ।
यस निर्णय अघि जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा एक कार्यदल बनाएर अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदनका आधारमा यस निर्णयमा पुगिएको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए।
अधिकारीले भने, “भूमि सम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा र सार्वजनिक जग्गा नोक्सान गर्ने प्रावधान छ। भू-माफियाको प्रभाव बढ्न नदिन र जनताको पक्षमा हामीले यस्तो निर्णय गरेका हौं।”