पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार

पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार

काठमाडौं। नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर चक्कु प्रहार गरिएको छ। सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका-१० स्थित चैनपुरमा रहेको देवीस्थान होटेलमा खाना खाएर कोठामा फर्कने क्रममा उनीमाथि उक्त आक्रमण भएको हो।

पत्रकार सिंहका अनुसार, खाना खाएर कोठा फर्कने क्रममा मस्टा गाउँपालिका-४ का विनोद कठायतको समूहले उनलाई बोलाएर केही कुरा गर्नु छ भनेका थिए। पछि, जबर्जस्ती अपहरण गर्दै कोठामा लगेर चुकुल लगाएर अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरिएको उनले बताए। चक्कु प्रहार र कुटपिटबाट पत्रकार सिंह घाइते भएका छन् र उनको निधारमा तीन वटा टाका लगाइएको छ।

नेपाल पत्रकार महासंघले उक्त सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विज्ञप्ति जारी गरेको छ।  विज्ञप्तिमा भनिएका छन्, “जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रूपमा लिएको छ। पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।”

साथै पत्रकार महासचंघले पत्रकारको सुरक्षामा गम्भीर ध्यान दिन र यस्ता घटनाहरू नियन्त्रण गर्न कडा कदम चाल्न माग गरेको छ। यता, कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।