

काठमाडौं। चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा चलचित्र शिविर सञ्चालन गर्ने घोषणा गरेको छ। फागुन १३, १४ र १५ गते आयोजना हुने यो शिविरको मुख्य उद्देश्य मधेसमा चलचित्रको अभिरुचि र चेतना जागृत गर्दै चलचित्र बजारको विस्तार र सुदृढीकरण गर्नु रहेको बोर्डले जानकारी दिएको छ।
शिविरमा नेपाली र मातृभाषा चलचित्रको अवस्था, बजार र दर्शकको रुचिको अध्ययन गरिनेछ भने मधेसी युवा चलचित्रकर्मीलाई चलचित्र नीति र विधिहरूमा अभिमुखिकरण दिइनेछ। बोर्ड अध्यक्ष दिनेश डिसीले भने, “यस शिविरको माध्यमबाट मधेसी समाजका मौलिक, नवीन र उत्कृष्ट कथाहरूको खोजी गर्ने र चलचित्रसँग सम्बन्धित विभिन्न विषयमा बहस गर्ने अवसर प्रदान गरिनेछ।”
यस शिविरको दूरगामी प्रभाव चलचित्र उद्योगमा पर्ने विश्वास व्यक्त गर्दै उनले चलचित्रलाई सामाजिक एकता र सांस्कृतिक सद्भावको महत्वपूर्ण माध्यमको रूपमा परिभाषित गरे।
शिविरका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, पोस्टर र फोटो प्रदर्शनी, कार्यशाला, अन्तरक्रिया, संवाद र चलचित्र सम्मेलन जस्ता कार्यक्रमहरूको आयोजना गरिने जानकारी बोर्ड सदस्य केएल बुढाथोकीले दिएका छन्।