एजेन्सी । हमासले इजरायलले युद्धविराम सम्झौंता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ स्थगित गर्ने भएको छ। हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबेदा का अनुसार इजरायलले आफ्नो दायित्व पूरा नगरेसम्म बन्धकको रिहाइ प्रक्रिया अघि नबढ्ने छ। हमासले विस्थापित प्यालेस्टिनीहरूलाई फर्काउन ढिलाइ गरेको, गाजामा गोली चलाएको र मानवीय सहायता प्रवेशमा अवरोध गरेको आरोप लगाएको छ।
इजरायलका रक्षा मन्त्री इजरायल काट्जले हमासको यो निर्णयलाई ‘युद्धविराम सम्झौताको पूर्ण उल्लंघन’ बताएका छन्। उनले इजरायल रक्षा बललाई गाजामा सम्भावित सुरक्षा चुनौतीहरू सामना गर्न उच्च सतर्कतामा रहन आदेश दिएका छन्।
यसअघि, थुनामा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्दी बनाइएका तीन जनालाई शनिबार रिहा गर्ने तय गरिएको थियो। जनवरी १९ मा युद्धविराम सुरु भएयता ५६६ प्यालेस्टिनी कैदीको बदलामा १६ इजरायली र पाँच थाई नागरिक रिहा भइसकेका छन्। समाचारअनुसार युद्धविरामको पहिलो चरणको अन्त्यसम्म ३३ बन्धक र १,९०० प्यालेस्टिनी कैदी रिहा हुने अपेक्षा गरिएको छ।