बागलुङमा १५ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र अलपत्र

बागलुङमा १५ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र अलपत्र

बागलुङ । सेवाग्राही समयमा लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार ८३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन्। प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायका अनुसार परिचयपत्रका लागि फारम भरेका धेरै व्यक्ति विदेशिए का कारण उनीहरू लिन नआएका हुन्। नयाँ परिचयपत्र बनाउने सेवाग्राही दिनहुँ २०० जना सम्म आए पनि तयारी अवस्थामा रहेका कार्ड लिन आउने संख्या न्यून रहेको उनले बताए। हाल दैनिक २० देखि ५० जना मात्र परिचयपत्र लिन आइरहेको हुँदा ठूलो संख्यामा परिचयपत्र संकलनविहीन भएको छ।

हाल वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम जारी छ। जिल्ला प्रशासन कार्यालय बागलुङमा अहिलेसम्म २८ हजार ८८५ राष्ट्रिय परिचयपत्र तयार भइसकेका छन्, तर तीमध्ये मात्र १३ हजार ४७ परिचयपत्र सेवाग्राहीले लगेका छन्।

परिचयपत्र लिँदा स्वयं सेवाग्राही नै उपस्थित भई पुनः बायोमेट्रिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले वितरणको गति ढिलो भएको प्रशासनले जनाएको छ। यसै कारण जिल्ला प्रशासन कार्यालयले गलकोट नगरपालिकामा विशेष शिविर सञ्चालन गर्ने तयारी गरेको छ।

राष्ट्रिय परिचयपत्र अब अनिवार्य

राष्ट्रिय परिचयपत्रसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। नागरिकता प्रमाणपत्रमा देखिएका कमजोरी सुधार गर्दै देशको सुरक्षा व्यवस्थालाई डिजिटल प्रणालीमा लैजान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको चिपयुक्त कार्ड लागू गरिएको हो।

यस कार्डमा वैयक्तिक र जैविक विवरण (१० औंठाछाप, फोटो, जन्म-मृत्यु दर्ता लगायत) समेटिन्छ। नागरिकता, लाइसेन्स, मतदाता परिचयपत्र र जग्गाधनी प्रमाणपत्र जस्ता कागजातहरू छुट्टाछुट्टै बोकेर हिँड्नुपर्ने झन्झट हटाउने लक्ष्य राष्ट्रिय परिचयपत्रको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार भविष्यमा जन्मदेखि नै डिजिटल सिस्टममा परिचयपत्र व्यवस्थापन गरिने छ।