धनगढी । सीवाईसी अत्तरियाले फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अर्जुन ट्रफी राष्ट्रिय टी-२० प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको ११९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा मात्र ८४ रनमा समेटियो।
डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन र कुशल भुर्तेलले २० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। अत्तरियाका शाहब आलमले ३ विकेट लिए भने, दिपेश कँडेल, कमल गुप्ता र विवेक यादवले समान २-२ विकेट हात पारे।
टस जितेर ब्याटिङ गरेको अत्तरियाले ९ विकेट गुमाएर ११८ रन बनायो। टोलीका लागि रसिद खानले अविजित ३१ रन बनाए भने, सन्तोष कार्की र शङ्कर रानाले समान २०-२० रन जोडे।डडेल्धुराका बलर अभिषेक गौतमले ४ विकेट लिए भने, कुशल भुर्तेल र अजय चौहानले समान १-१ विकेट हात पार्न सफल भए।
प्रतियोगिताको विजेता अत्तरियाले १० लाख रुपैयाँ प्राप्त गर्दा, उपविजेता डडेल्धुराले ५ लाख रुपैयाँ पुरस्कार जितेको छ। अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए।