अनुशासन र सदाचार प्रणाली विकास आजको आवश्यकता: राष्ट्रपति पौडेल

अनुशासन र सदाचार प्रणाली विकास आजको आवश्यकता: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुशासन र सदाचार प्रणालीको विकास अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। सोमबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवस का अवसरमा आयोजित कार्यक्रममा उनले सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने, “आयोगले शक्ति र पदले कसैलाई कानुनी जवाफदेहिताबाट मुक्त गर्दैन भन्ने जनमानसमा विश्वास दिलाउनुपर्छ।” उनले नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गर्दै जनताको विकास र सुशासनप्रतिको आकांक्षा पूरा गर्न आवश्यक रहेको बताए।

“भ्रष्टाचारको स्वरूप जस्तो परिवर्तन भइरहेको छ, अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि त्यसैअनुसार आधुनिकीकरण गर्दै जानुपर्छ,” राष्ट्रपति पौडेलको भनाइ छ।

उनले राज्यको प्रमुख दायित्व कानुनी शासन स्थापना र सुशासन प्रत्याभूति गराउनु भएको उल्लेख गर्दै अख्तियारले भ्रष्टाचारका सम्भावित जोखिमबारे सार्वजनिक निकाय र पदाधिकारीलाई सचेत गराउनुपर्ने धारणा व्यक्त गरे। राष्ट्रपति पौडेलले थपे, “ठूला सार्वजनिक खरिद प्रक्रियामा देखिएका विसंगतिहरूप्रति राज्य पक्ष र अख्तियार दुवै गम्भीर बन्नुपर्छ। भ्रष्टाचार नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने विश्वास म लिन्छु।”