काठमाडौं । भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार बस धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। गए राति (माघ २७) करिब १०:०५ बजे धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा ३ ख ८९२३ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।
दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्ले गम्भीर घाइते भइ उपचारका क्रममा निधन भएको छ। काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा माघ २८ गते बिहान १:०५ बजे उनको मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए।
घाइतेमध्ये ९ जनाको प्रहरी अस्पताल, ८ जनाको राष्ट्रिय ट्रमा सेन्टर, ५ जनाको बाँसबारीस्थित न्युरो अस्पताल, र १ जनाको धादिङको साइबाबा अस्पतालमा उपचार भइरहेको छ।डीएसपी हमालका अनुसार, बस रिजर्भ गरिएको हुन सक्ने अनुमान छ। उनले भने, “अधिकांश घाइते दोलखाकै हुन्, र उनीहरूको अवस्था सुधार हुँदै गएको देखिन्छ।”