काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा आयोगले टंगालस्थित कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्दैछ।
आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने अधिकार प्रदान गरेको छ।
संविधानको धारा २३९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले भ्रष्टाचार गरेको देखिएमा आयोगले अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाउने जिम्मेवारी राख्छ।
आयोगको ३४औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा कूल ३६,१८६ उजुरी दर्ता भएका थिए, जसमध्ये २७,७१४ उजुरी फछ्र्यौट गरिएको छ। अख्तियारले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक तथा संस्थागत सुधारका रणनीतिहरू अपनाउँदै भ्रष्टाचार नियन्त्रणमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ।