नयाँ शक्तिको बन्दसत्र सुरु, बाबुराम भट्टराईको प्रतिवेदनमाथि छलफल

नयाँ शक्तिको बन्दसत्र सुरु, बाबुराम भट्टराईको प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको जारी महाधिवेशनमा बन्दसत्र आजदेखि सुरु भएको छ । आईतबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको यस महाधिवेशनमा पार्टी संयोजक डा. बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुन लागेको छ ।

महाधिवेशनको आयोजक समिति विघटन गरी पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी रहेका छन् ।

डा. भट्टराईले ३२ पृष्ठको राजनीतिक प्रतिवेदनमा वैकल्पिक नयाँ शक्ति निर्माणका लागि वैचारिक र सङ्गठनात्मक आधारहरू प्रस्तुत गरेका छन् । प्रतिवेदनको शीर्षक “नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक शक्तिको औचित्य र आधार” राखिएको छ । उनले देशमा वैकल्पिक राजनीतिको आवश्यकता रहेको बताउँदै नयाँ दलहरूबीच सहकार्य गरी अघि बढ्न आग्रह गरेका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै २९ गते समापन हुने पार्टीले जनाएको छ ।