राष्ट्र बैंकद्वारा २ अर्ब १९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानीको आह्वान

राष्ट्र बैंकद्वारा २ अर्ब १९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानीको आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदर प्रस्ताव माग गरिएको छ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख, ‘ख’ वर्गका विकास बैंकमा ३२ करोड ८५ लाख, तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ९५ लाख रुपैयाँ लगानी गरिनेछ।

मुद्दती निक्षेप फागुन ६, २०८१ देखि फागुन ६, २०८२ (३६६ दिन) सम्म रहनेछ। बैंकले माघ ३० गते दिउँसो १ बजेसम्म आवेदन पेश गर्न आग्रह गरेको छ।

लगानी योग्य बैंक तथा वित्तीय संस्थाका लागि न्यूनतम पुँजीकोष पूरा भएको, कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको, निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, तथा न्यूनतम तरल सम्पत्ति पूरा भएको जस्ता शर्तहरू लागू हुनेछन्।

बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी आवेदन दिन नपाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ। कोषको रकम लगानीबारे अन्तिम निर्णय नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गर्नेछ।