काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजना हुने महाधिवेशन माघ २९ गतेसम्म चल्ने छ, जसमा १,५०० प्रतिनिधिहरूको सहभागिता रहनेछ। महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ।
पार्टीकी नेत्री हिसिला यमीले भारतमा रहेका प्रवासी सदस्यहरूलाई अनलाइन मतदानको सुविधा दिइएको जानकारी दिइन्। समावेशिताको मर्मअनुसार नेतृत्व चयन गरिने बताउँदै उनले अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाबाट चयन हुने स्पष्ट पारिन्।
उपाध्यक्ष समूहगत प्रतिस्पर्धाका आधारमा चयन गरिनेछ भने सचिवमा महिलालाई प्राथमिकता दिइनेछ। बाँकी सदस्यहरू ‘फ्री इलेक्सन’ प्रणालीबाट चयन गरिनेछ। महाधिवेशनलाई पार्टीको भविष्यको दिशा तय गर्ने महत्त्वपूर्ण अवसर का रूपमा हेरिएको छ।