काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) दिउँसो १:१५ बजे बस्दैछ। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन संसदमा पेस गर्नेछन्।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्।
यसैबीच, संघीय संसदअन्तर्गत प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्दैछ। सो बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।