

काठमाडौं । संघीय संसद भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको एकसट्ठीऔं वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन्।
त्यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेश गर्नेछन्। सांसद प्रेम सुवालबाट प्राप्त विरोध सूचना निर्णयार्थ पेश गरिने भएकाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को प्रस्तुतिमा छलफल हुने सम्भावना छ।
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, नेपाल प्रहरी विधेयक, २०८१, तथा सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावहरू पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।
त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछन्।
बिधायनसम्बन्धी विधेयक, २०८० को विभिन्न दफाहरू ‘कानुन, न्याय तथा मानवअधिकार समिति’ को प्रतिवेदनसहित निर्णयार्थ पेश गरिनेछ। साथै, कानुन मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। तर, सरकारले आजको बैठकमा पनि अध्यादेशलाई कार्यसूचीमा समावेश गरेको छैन।