

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आधुनिक र प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्रोत साधनको अधिकतम उपयोग गर्दै दुवै सुरक्षा निकायलाई सुधार गर्न कानुनी संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
गृहमन्त्री लेखकका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधनका लागि विधेयक संसदमा दर्ता भइसकेको छ। “नागरिकता विधेयक संसदमा दर्ता भइसकेको छ, अध्यागमन ऐन संशोधन प्रस्ताव पनि चाँडै संसदमा लैजाने तयारी छ,” उनले भने।
उनले थपे, “निर्वाचन ऐन, जग्गा प्राप्ति ऐन संशोधन तथा संघसंस्थासम्बन्धी नयाँ कानुन निर्माणको काम अघि बढिरहेको छ। तीन विधेयक संसदमा दर्ता भइसकेका छन्, बाँकी विधेयक चालु अधिवेशनमै पेस गरिनेछ।”
गृहमन्त्री लेखकका अनुसार नेपाल प्रहरी ऐनले सेवा प्रवेश र निवृत्तिको प्रक्रिया स्पष्ट गर्नेछ। उनले प्रहरीबाट आवश्यक सुझाव आएमा विधेयक परिमार्जन गर्न सकिने बताए।
विधेयकका कमीकमजोरी सुधार्न सकिने उल्लेख गर्दै उनले “चित्त नबुझेका विषयमा सकारात्मक दृष्टिकोणबाट बहस हुनुपर्छ” भन्ने धारणा राखे। गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समयानुकूल बनाउन कानुनी सुधार आवश्यक रहेको र त्यसका लागि सरकार निरन्तर सक्रिय रहेको स्पष्ट पारे।