कुनै पनि दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कुनै पनि दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई कुनै पनि प्रकारको दबाब वा भनसुनमा नपरी प्रमाण र तथ्यमा आधारित निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका छन्।

नेपाल पुलिस क्लब परिसर, भृकुटीमण्डपमा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीलाई सही तरिकाले काम गर्न सरकारले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे। साथै, न्याय स्थापनाका लागि निर्भीक भएर अघि बढ्न निर्देशन दिए।

निर्भीक भएर काम गर्न निर्देशन

प्रधानमन्त्री ओलीले भने, “तपाईंहरू जनताको अपेक्षा अनुसार चल्नुपर्छ। जनताले प्रहरीबाट निष्पक्ष र मर्यादित व्यवहारको अपेक्षा गरेका छन्। त्यसैले संविधान र कानुनअनुसार देश र जनताको हितलाई सर्वोच्च प्राथमिकता दिई काम गर्नुहोस्।”

उनले थपे, “तस्कर, भ्रष्टाचारी र ठगहरूमाथि अनुसन्धान गर्दा तिनका धम्की वा प्रभावमा नपर्नुहोस्। निर्धक्क भएर काम गर्नुहोस्। राष्ट्रिय हित र एकतालाई ध्यानमा राखी शान्ति-सुव्यवस्था कायम गर्न अझ प्रभावकारी भूमिका खेल्नुहोस्।”

नेपाल प्रहरीमा सुधार आवश्यक

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरू देश र जनताको सेवामा अहोरात्र खटिँदा कतिपय अधिकृतहरू भने व्यक्तिगत स्वार्थका लागि विरोधीसँग साँठगाँठ गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरे। उनले प्रहरी संगठनलाई व्यक्तिगत स्वार्थमुक्त बनाएर सुधार्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले प्रहरी संगठनलाई “सबै प्रहरीको साझा घर” का रूपमा स्थापित गर्नुपर्ने बताउँदै, मूल्यांकन र अवसरका क्रममा आफ्ना मान्छे मात्रै अघि बढाउने प्रवृत्ति हटाउनुपर्ने बताए।

७५ करोड लागतमा निर्माण सम्पन्न

वि.सं. २०७७ जेठ ११ गते शिलान्यास भएको ‘द ब्लु प्याभिलियन’ भवन ७५ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जानकारी दिइएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ पुस्तकको विमोचन गरे। साथै, भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक तथा निर्माणकर्ताहरूलाई सम्मान गरिएको थियो।

प्रधानमन्त्री सहायता कोषमा ७४ लाखको सहयोग

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ७४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

प्रहरी ऐन संशोधन छिट्टै पारित हुने

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन संशोधन विधेयक संसदमा प्रस्तुत भइसकेको जानकारी दिए। उनले विधेयकमा प्राप्त रचनात्मक सुझावलाई समेटी छिट्टै पारित गरिने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय सांसद ध्रुवबहादुर प्रधान लगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।