दिल्लीमा २७ वर्षपछि भाजपाको पुनरागमन

दिल्लीमा २७ वर्षपछि  भाजपाको पुनरागमन

काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले २७ वर्षपछि पुनरागमन गर्दै ऐतिहासिक जित हात पार्न लागेको छ। निर्वाचन आयोगका पछिल्ला नतिजा अनुसार, भाजपाले ५ सिट जितिसकेको छ भने थप ४३ सिटमा अग्रता लिइरहेको छ, जसले गर्दा कुल ४८ सिट हासिल गर्ने आँकलन गरिएको छ।

आम आदमी पार्टी (आप) ले ६ सिट जितिसकेको छ भने १६ सिटमा अगाडि रहेको छ, जसअनुसार उसले कुल २२ सिट प्राप्त गर्ने देखिएको छ। कांग्रेस भने यसपटक कुनै सिट जित्न असफल देखिएको छ।

दिल्लीको राजनीतिक परिदृश्यमा ठूला उलटफेर देखिएको छ। आपका प्रमुख नेता तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट पराजित भएका छन्, भने जंगपुरा सिटबाट मनीष सिसोदिया पनि चुनाव हारिसकेका छन्। वर्तमान मुख्यमन्त्री आतिशी भने कालकाजी सिटबाट विजयी भएकी छिन्। सत्येन्द्र जैनले पनि चुनावमा पराजय भोगेका छन्।

भाजपा उम्मेदवार प्रवेश वर्माले अरविन्द केजरीवाललाई पराजित गरेपछि अमित शाहलाई भेट्न भाजपा मुख्यालय पुगेका छन्। यसैबीच, दिल्लीस्थित भाजपा मुख्यालयमा उत्सव मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे मुख्यालयमा पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

केन्द्रीय गृहमन्त्री अमित शाहले चुनावी नतिजा बारे प्रतिक्रिया दिँदै दिल्लीवासीहरूले झूटा वाचा र अव्यवस्थित शासनलाई अस्वीकार गरेको बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शाहले लेखेका छन्, “जनताले फोहोर यमुना, दूषित पिउने पानी, बिग्रिएका सडक, बग्ने ढल, र अत्यधिक मदिरा पसलहरूको विरोधमा आफ्नो मत दिएको छ।”

यो चुनावी नतिजाले दिल्लीको राजनीतिक भविष्यमा ठूलो प्रभाव पार्ने देखिन्छ।