

काठमाडौं । पाँच करोड मूल्य पर्ने बहुमूल्य ढुंगा दिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले पोखरामा दुई युवती र एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्वत फेवास नगरपालिका-५ की ३१ वर्षीया इन्दिरा विक, ३६ वर्षीय राजन विक, र खोटाङ हलेसी नगरपालिका-१ की २७ वर्षीया जुनु भन्ने लक्ष्मी राई रहेका छन्। कास्की प्रहरीका अनुसार उनीहरूलाई पोखरा महानगरपालिका-६ कसाइडबाट बिहीबार पक्राउ गरिएको हो।
पीडित कुन्ती सुब्बा गुरुङले ठगीको उजुरी दिएपछि गण्डकी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की, र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

१३ लाख ५० हजार ठगीको आरोप
प्रहरी निरीक्षक अविनाश दिप जिसीका अनुसार पक्राउ परेकाहरूले पीडितलाई पाँच करोड पर्ने बहुमूल्य ढुंगा दिने प्रलोभन देखाएर १३ लाख ५० हजार रुपैयाँ ठगेको अनुसन्धानबाट खुलेको छ।
‘ढुंगा बहुमूल्य हो वा होइन भन्ने शंका लागेपछि पीडितले उजुरी दिएका थिए,’ प्रहरी निरीक्षक जिसीले भने, ‘पक्राउ परेकाहरूको साथबाट केही ढुंगा बरामद भएका छन्, तर तिनीहरूको वास्तविकता परीक्षण गर्न बाँकी छ।’
सेतो पारदर्शी ढुंगा, बैंक चेक र मोबाइल बरामद
लेकसाइडमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूका कोठाबाट प्रहरीले सेतो पारदर्शी ढुंगा ६ थान, रातो रंगको ढुंगा १ थान, ३१ लाख रुपैयाँ बराबरका चार थान बैंक चेक, र तीन थान मोबाइल बरामद गरेको छ। तीनै जनालाई ठगी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद लिएर थुनामा राखिएको प्रहरीले जनाएको छ।