

मुम्बई । महामंडलेश्वर बनेपछि विवादमा आएकी बलिउड अभिनेत्री ममता कुलकर्णीले हालै ब्रत र मदिरा सेवनबारे दिएको अभिव्यक्तिले नयाँ बहस जन्माएको छ।
हालै ‘आपकी अदालत’ कार्यक्रममा सहभागी भएकी कुलकर्णीले आफू बलिउडमा रहँदा नवरात्रिको ब्रत बस्ने तर साँझ ताज होटलमा गएर स्कच पिउने गरेको खुलासा गरिन्। उनले भनिन्, “म जहाँ सुटिङका लागि जान्थेँ, मसँग मेकअप, लुगा र मन्दिर भएको तीनवटा सुटकेस हुन्थ्यो। होटलको कोठामा देवी-देवताका मूर्तिहरू राखेर पूजा गरेपछि मात्र सुटिङमा जान्थेँ।”
उनले नवरात्रिका ९ दिनसम्म पानी मात्र पिएर ब्रत बसेको तर साँझ मदिरा सेवन गर्दा अजीब अनुभूति हुने बताइन्। “स्कच पिउँदा शरीरभित्र आगो बल्न थालेझैं महसुस हुन्थ्यो। बाथरुम गएर आँखा बन्द गरेर बस्ने बानी पर्यो। एकपटक त ४० मिनेटसम्म बाथरुममै थुनिएँ, बाहिर मेरो डिजाइनर र स्टाफले ढोका ढकढकाइरहेका थिए,” उनले स्मरण गरिन्। उनको यस खुलासापछि बलिउडमा नयाँ बहस सुरु भएको छ।