

काठमाडौँ । नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरू अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गरेको छ। संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको कांग्रेस संसदीय दल बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न आवश्यक कानूनहरू बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि विधेयकहरू संसदमा पेस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। बैठकले संसदमा विचाराधीन विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको छ।
बैठकले आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेशलाई समर्थन गर्ने निर्णय पनि गरेको प्रमुख सचेतक घिमिरेले बताए। उनले राष्ट्रको आवश्यकताका आधारमा ल्याइएका अध्यादेशहरूमा जसपा नेपालले समर्थन गरेको उल्लेख गरे। त्यस्तै, बैठकले संसदको प्रभावकारिता बढाउन र जनता आवाजलाई अधिकतम रूपमा सदनमा राख्न सांसदहरूलाई निर्देशन दिएको छ।