काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सांसदहरूलाई अध्यादेशको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले राष्ट्रिय सभामा आफ्नो दलका सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भएर अध्यादेशको पक्षमा उभिन निर्देशन दिइएको जानकारी दिइन्। ‘अध्यादेशको पक्षमा उभिन भनेर ह्विप लगाइएको छ,’ उनले भनिन्।
राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो १:१५ बजे बस्दैछ। बैठकमा सरकारले संसद् अधिवेशन नरहेको बेला जारी गरेका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
गत पुस १४ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए। त्यसपछि पुस २९ गते थप चार वटा र माघ २ गते अर्को एउटा अध्यादेश जारी गरिएको थियो।
हाल ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन्, जसलाई बिहीबार निर्णयार्थ पेस गरिँदैछ। न्यौपानेका अनुसार कांग्रेस र एमाले दुवै दलले आफ्ना सांसदहरूलाई संसद्मा अनिवार्य रूपमा उपस्थित हुन र अध्यादेश पारित गर्न मतदान गर्न निर्देशन दिएका छन्।