राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थिति गराउन दलहरूको निर्देशन

राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थिति गराउन दलहरूको निर्देशन

काठमाडौं । बिहीबार राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि विभिन्न राजनीतिक दलहरूले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षमा बराबरी संख्याका सांसद रहेका कारण अध्यादेशहरू निर्णयार्थ पेस गर्न लागिएको अवस्थामा दलहरूले आफ्ना सांसदहरूलाई सभामा उपस्थित हुन कडा निर्देशन दिएका हुन्।

राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकहरूले सांसदहरूलाई म्यासेज र टेलिफोनमार्फत काठमाडौंमै रहन वा बाहिर भए बुधबार बेलुकीसम्म फर्कन निर्देशन दिएका छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा सत्तापक्षतर्फ नेपाली कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरी २७ सांसद छन्। एमाले समर्थित मनोनीत सांसद डा. अन्जान शाक्यलाई थप्दा सत्तापक्षको संख्या २८ पुग्छ। यदि मनोनीत सांसद बामदेव गौतमले पनि अध्यादेशको पक्षमा मत दिए, सत्तापक्षको संख्या २९ पुग्नेछ।

यस्तै, प्रतिपक्षमा माओवादी केन्द्र (१७), नेकपा एकीकृत समाजवादी (८) र राष्ट्रिय जनमोर्चा (१) गरी २६ सांसद छन्। तीन सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल भने अझै निर्णयमा पुगेको छैन। जसपाले राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशको अध्ययन गरिरहेको छ। जसपाको संसदीय दलको बैठक बिहीबार बिहान बस्नेछ, जसमा अन्तिम निर्णय हुने जसपा नेताहरूले बताएका छन्।