रवि लामिछाने न्यायिक हिरासतमा राख्न अदालतकाे आदेश

रवि लामिछाने न्यायिक हिरासतमा राख्न अदालतकाे आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ। चितवन जिल्ला अदालतमा बुधबारदेखि सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिइएको हो। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी लामिछानेलाई हिरासतमा राख्न आदेश गरेको छ।

साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो। बयानपछि थुनछेक बहससमेत सुरु गरिएको छ। बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्ध बहादुर थापासहित तीन जनाले बहस गरेका छन्। सहकारी पीडित पक्षबाट बुधबार अधिवक्ता रमेश काफ्लेले मात्र बहस गर्न भ्याएका छन्। अन्य पीडित पक्षका कानुन व्यवसायीहरूले बिहीबार अदालत खुल्नासाथ बहस सुरु गर्ने बताइएको छ।