मन्त्री कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ ट्रक चालकलाई कारबाही

मन्त्री कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ ट्रक चालकलाई कारबाही

रुपन्देही: लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ वटा ट्रक चालकहरूलाई कारबाही गरिएको छ। हुलाकी राजमार्गको कपिलवस्तु नगरपालिका सडक खण्डमा, मन्त्री कार्कीको गाडी लु १ झ ७३८ पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा जाँदै गर्दा साइड नदिएको आरोपमा प्र १०२००१ ख ८४७३, ३३५१ र ९२०७ नम्बरका ट्रकलाई ५ सय रुपैयाँ दरले जरिवाना गरिएको छ।

मन्त्रीका पिएसओ हवल्दार कृष्णबहादुर खत्रीले ट्रक चालकहरूलाई रोकेर ट्राफिकलाई जर्जस्ती कारबाही गर्न निर्देशन दिएका थिए। ट्रक चालकहरूले भने, सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन्।

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका चालक दिलबहादुर कटुवालले भने, “हामी सामान्य गतिमा थियौँ। एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबर्जस्ती जरिवाना तिरायो।” उनले थप गुनासो गर्दै भने, “मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले सामान्य कारबाही मात्रै गरेर छाडेको छ।”

बिहान ९ बजे भालुवाङबाट भैरहवामा आयोजित जनस्वास्थ्य कार्यक्रमका लागि हिँडेका मन्त्री कार्कीको गाडी तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन्। मन्त्रीका पिएसओ भने, पटक पटक साइडको लागि आग्रह गर्दा पनि नदिएको र कारबाहीका लागि सिफारिस गरिएको बताए।

ट्रक चालकहरूले बाटो छेकेर भिडियो बनाइरहेको र हर्न बजाउँदासमेत सडक जाम गरेको कारण कारबाहीका लागि सिफारिस गरिएको मन्त्रीका पिएसओले बताएका छन्। यस घटनाले सडक यातायात नियम र सत्ताको दुरुपयोगबीचको विवादलाई फेरि एकपटक उजागर गरेको छ।