चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान चितवन जिल्ला अदालतको २ नम्बर इजलासमा सुरू भएको छ। न्यायाधीश दयाराम ढकालको एकल इजलासमा बयान लिइएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। समयमै बयान सकिएमा आजै थुनछेक बहस पनि सुरू हुने उनले बताए।
लामिछानेसहित ३२ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा माघ २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ अपचलन भएको दाबी गरिएको छ।
अहिलेसम्म ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ अपचलन भएको भन्दै जाहेरी परेको छ। अभियोगपत्रमा सोही रकम भराउन माग गरिएको छ। सहकारीको साढे तीन करोड रुपैयाँ गोर्खा मिडियामा गएको र उक्त रकम हिनामिना गरिएको आरोप लामिछानेमाथि लागेको छ।
मुद्दा दर्ता भएपछि लामिछाने बुधबार बिहान स्वयं जिल्ला अदालतमा उपस्थित भएका थिए। यसअघि सहकारी ठगी मुद्दामा कास्की, काठमाडौं, र रुपन्देही जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरिसकेको छ।