पाथिभरा केवलकार परियोजनामा अवरोधप्रति निजी क्षेत्रको आपत्ति, बन्द हडताल रोक्न आग्रह

पाथिभरा केवलकार परियोजनामा अवरोधप्रति निजी क्षेत्रको आपत्ति, बन्द हडताल रोक्न आग्रह

काठमाडौं । तीन प्रमुख निजी क्षेत्रका संस्थाहरू- नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा निर्माण हुन लागेको केवलकार परियोजनालाई लिएर भइरहेका अवरोध र बन्द हडतालप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै ती संस्थाहरूले कोशी प्रदेशका विभिन्न जिल्लामा भइरहेको बन्दले शैक्षिक, आर्थिक, र सामाजिक जनजीवन अस्तव्यस्त बनाएको उल्लेख गर्दै यस्ता गतिविधिले लगानीमैत्री वातावरणलाई विथोल्ने चेतावनी दिएका छन् ।

पर्यटन पूर्वाधार विकास अवरुद्ध गर्न खोज्नु दुर्भाग्यपूर्ण

विज्ञप्तिमा नेपालमा निजी क्षेत्रले पर्यटनमा अर्बौं रुपैयाँ लगानी गरिसकेको र हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको सन्दर्भमा पाथिभरा केवलकार परियोजनाले धार्मिक, सांस्कृतिक, र साहसिक पर्यटन प्रवद्र्धन गर्नेसँगै कृषि, हस्तकलालगायत स्थानीय व्यवसायमा समेत टेवा पुर्‍याउने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “बृद्धबृद्धा, अशक्त बालबालिका तथा अन्य यात्रुहरूका लागि सुरक्षित, छिटो, र सुविधाजनक यात्रा प्रदान गर्ने यो परियोजनाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारीका अवसर सिर्जना गर्नेछ । तर यसलाई बाह्य हस्तक्षेपसहित अवरोध गर्न खोज्नु दुर्भाग्यपूर्ण छ।”

स्थानीय तहको सहमति हुँदाहुँदै विरोध अनुचित

निजी क्षेत्रले केवलकार निर्माणका लागि स्थानीय तह तथा बासिन्दाहरूको सहमति रहेको अवस्थामा बाह्य हस्तक्षेप गर्दै निर्माण कार्यमा अवरोध सिर्जना गर्नु आपत्तिजनक भएको बताएको छ । विज्ञप्तिमा, “यो अवरोध कुनै एउटा परियोजनाको मात्र विरोध होइन, समग्र पूर्वाधार विकास र लगानीमैत्री वातावरणलाई नै ध्वस्त पार्ने प्रयास हो,” भनिएको छ ।

संवादबाट समाधान खोज्न आग्रह

संयुक्त विज्ञप्तिमा समस्या समाधानका लागि वार्ताको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिँदै, सम्बन्धित निकाय र सरोकारवालाहरूलाई विकासका प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न तथा परियोजनालाई निर्वाध रूपमा अघि बढाउन अपिल गरिएको छ ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघका कोशी, गण्डकी, र कर्णाली प्रदेशका सभापतिहरूले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र संयुक्त रूपमा प्रयासरत रहेको अवस्थामा विकासमा अवरोध सिर्जना गर्नु गलत सन्देश प्रवाह गर्ने बताएका छन् ।

लगानीमैत्री वातावरण नबिगार्न आग्रह

विज्ञप्तिमा, “राज्यको नियम, कानुन तथा स्थानीय बासिन्दाको चाहनाअनुसार अघि बढिरहेको परियोजनामा अवरोध पुर्‍याउनु नेपालको आर्थिक विकासका लागि आवश्यक स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित गर्ने कार्य हो,” उल्लेख गरिएको छ ।

निजी क्षेत्रका संस्थाहरूले पर्यटन पूर्वाधार विकासले देशको समग्र आर्थिक समृद्धिमा पुर्‍याएको योगदान स्मरण गराउँदै केवलकार परियोजनालाई सहज रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।