बेलायती राजकुमार एडवार्ड र सोफिया नेपालमा, राष्ट्रपति पौडेलसँग भेट्ने तयारी

बेलायती राजकुमार एडवार्ड र सोफिया नेपालमा, राष्ट्रपति पौडेलसँग भेट्ने तयारी

काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया आज बिहान नेपाल आइपुगेकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरू र नेपालस्थित बेलायती दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए।

एयरपोर्टबाट सोफिया लैनचौरस्थित बेलायती दूतावास गएकी छन्। केही समयपछि राजकुमार एडवार्ड पनि काठमाडौं आइपुग्नेछन्। दुवै जना दिउँसो ३:४५ बजे राष्ट्रपति भवन, शीतल निवास प्रस्थान गर्ने र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

गोर्खा क्याम्प भ्रमण र अन्नपूर्ण अवलोकन

६ दिने नेपाल बसाइका क्रममा बेलायती राजकुमार दम्पती पोखरास्थित ब्रिटिश गोर्खा क्याम्प जानेछन्। बेलायती सञ्चार माध्यमका अनुसार उनीहरू हालै बेलायती सेनामा छनोट भएका नेपाली गोर्खा सैनिकहरूको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन्। यो परेडमा नवभर्ती नेपाली जवानहरूलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह प्रदान गरिन्छ।

निजी भ्रमणका क्रममा एडिनबर्ग दम्पती नेपाली सेनाको हेलिकप्टरमार्फत अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने कार्यक्रम रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

महिला सशक्तिकरण र मानव बेचबिखनविरुद्ध पहल

नेपाल भ्रमणका क्रममा उनीहरूले स्वास्थ्य सेवा, महिला सशक्तिकरण, मानव बेचबिखन तथा लैंगिक हिंसाबाट बचेकाहरूलाई सहयोग गर्ने संस्थाहरूको अवलोकन गर्नेछन्। सोफी संयुक्त राष्ट्रसंघको महिला, शान्ति, र सुरक्षा एजेन्डाकी च्याम्पियन भएकाले यो भ्रमण विशेष महत्त्वको रहेको बताइएको छ।

बकिङ्घम प्यालेसका अनुसार, “यो भ्रमणले बेलायत–नेपालबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्वास्थ्य सेवा, महिला सशक्तिकरण, जैविक विविधता संरक्षणजस्ता साझा चासोलाई प्रवर्द्धन गर्नेछ।”