

काठमाडौं । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै चिकित्सकहरू प्रारम्भिक चरणमा पहिचान भएमा रोग पूर्ण रूपमा निको पार्न सकिने बताउँछन्। सही समयमा पहिचान भएमा उपचार सम्भव भएकाले नआत्तिन सुझाव दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नियमित स्वास्थ्य परीक्षणमार्फत प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाएर रोकथाम गर्न सकिन्छ।
समयमै उपचार गरे निको हुन सक्छ
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार क्यान्सर कुनै पनि अवस्थामा भए पनि सही उपचारले निको पार्न सकिन्छ। “बिरामीहरू क्यान्सर भयो भनेर डराउँछन्, तर यो दीर्घरोग मात्र हो। उच्च रक्तचाप र मधुमेह जस्तै क्यान्सर पनि समयमा नियन्त्रण गर्न सकिन्छ,” उनले भने।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्जवल चालिसेले भने, “तेस्रो र चौथो चरणको क्यान्सर निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणमा रोग पूर्ण रूपमा निर्मूल गर्न सकिन्छ।”
क्यान्सरका चार चरण
क्यान्सरलाई शून्यदेखि चार चरणमा वर्गीकरण गरिएको छ।
नेपालमा सस्तो र प्रभावकारी उपचार
नेपालमा क्यान्सर उपचार अन्तर्राष्ट्रिय तुलनामा सस्तो रहेको चिकित्सकहरू बताउँछन्। सरकारी अस्पतालमा रु. ४० देखि ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने भए पनि निजी अस्पतालमा सोही उपचार गर्न रु. ५ लाखसम्म खर्च लाग्ने निर्देशक चालिसेले जानकारी दिए।
“सरकारले क्यान्सरपीडितका लागि रु. १ लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ,” उनले थपे।
क्यान्सरको प्रमुख कारणहरू
वरिष्ठ विशेषज्ञ डा. शाहीका अनुसार क्यान्सर निम्त्याउने मुख्य कारणहरूमा सुर्तीजन्य पदार्थ, मद्यपान, अस्वस्थ खानपान, व्यायामको कमी, विकिरणको प्रभाव, जीवाणु संक्रमण र वंशाणुगत कारकहरू पर्दछन्।
“खाद्य व्यवहार परिवर्तन भएर हामी फास्टफुड, जङ्कफुड, पोलेका खाना, सुर्तीजन्य पदार्थ सेवन गर्दै व्यायाम कम गर्दै गइरहेका छौँ, जसले क्यान्सरको जोखिम बढाएको छ,” उनले भने।
नेपालमा क्यान्सरको अवस्था
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार नेपालमा हरेक वर्ष २० हजारभन्दा बढी व्यक्तिलाई क्यान्सर हुने गरेको छ। सन् २०२० मा मात्र क्यान्सरका कारण १६,६२९ जनाको मृत्यु भएको थियो।
नेपालमा सर्वाधिक देखिने क्यान्सर:
सरकारी कार्यक्रम र उपचार सहायता
नेपाल सरकारले क्यान्सर रोकथामका लागि विभिन्न जनचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विपन्न नागरिक औषधि उपचार कोषबाट रु. १ लाखसम्मको उपचार सहायता दिइँदै आएको छ भने प्रदेश सरकारले थप रु. १ लाखसम्म उपलब्ध गराउने व्यवस्था छ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाई आगामी चार वर्षसम्म ३५ प्रकारका क्यान्सर औषधि निःशुल्क उपलब्ध गराउने योजना बनाएको छ।
‘पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू’ नारासहित विश्व क्यान्सर दिवस मनाइँदै
विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सरबाट हुने एक तिहाइ मृत्यु अस्वस्थ जीवनशैलीका कारण हुने गरेको छ। नेपालमा हरेक दिन ५० जना बिरामीको किमोथेरापी तथा १५० जनाको रेडिएसन थेरापी हुँदै आएको छ।
विशेषज्ञहरूका अनुसार प्रारम्भिक पहिचान र समयमै उपचार गरे क्यान्सरलाई जित्न सकिन्छ।