

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिश्रित निर्वाचन प्रणालीको बाध्यता हुँदाहुँदै पनि पार्टीभित्र एकता कायम गर्न सके बहुमत ल्याउन सम्भव हुने बताएका छन्।
नेपाली कांग्रेसले पोखरामा आयोजना गरेको ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले पार्टी एकढिक्का भए मात्रै निर्वाचन प्रणालीलाई चुनौतीको रूपमा नलिनुपर्ने धारणा राखे।
संविधानले मिश्रित निर्वाचन प्रणाली अपनाएकाले कुनै पनि दलले बहुमत ल्याउन कठिन छ भन्ने तर्क उठिरहेका बेला सभापति देउवाले प्रणाली परिवर्तन आवश्यक नभएको तर पार्टीभित्रको एकता अनिवार्य भएको स्पष्ट पारे।
“यो प्रणालीअनुसार बहुमत प्राप्त गर्न सहज छैन। तर, पार्टी एक भएर अघि बढे, मतभेद बिर्सिएर अघि बढे बहुमत ल्याउन सकिन्छ,” उनले जोड दिए।
बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले कांग्रेसलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न वर्तमान नेतृत्वलाई थप दृढता आवश्यक रहेको देउवाको भनाइ थियो।
“देशको संविधान, राजनीति समावेशी समानुपातिक व्यवस्थामा आधारित छ। यो व्यवस्था हामीले संघर्ष गरेर ल्याएका हौं। संघीय प्रणाली र समावेशी व्यवस्थालाई बलियो बनाउन कांग्रेसभित्र एकता आवश्यक छ,” देउवाले भने।
उनले पार्टीभित्रका विभिन्न गुटगत गतिविधि त्यागेर साझा लक्ष्यतर्फ अघि बढ्न आग्रह गर्दै एकता नै कांग्रेसको सफलताको मूल मन्त्र हुने बताए।