काठमाडौँ । नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि चालु आर्थिक वर्षको पहिलो छ महिनामा झन्डै रु ५६ अर्ब ८३ करोड खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो रकम रु २ अर्बले कम भए पनि विदेश अध्ययनमा जाने प्रवृत्ति अझै उच्च रहेको देखिन्छ।
गत वर्ष सोही अवधिमा रु ५८ अर्ब ९५ करोड बाहिरिएको थियो। सेवा खाता अन्तर्गत भ्रमण खर्च भने ९.७ प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ। अघिल्लो वर्ष यो खर्च रु ९२ अर्ब ८७ करोड थियो।
त्यस्तै, समीक्षा अवधिमा खुद सेवा घाटा रु ४३ अर्ब ५३ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो। अघिल्लो वर्ष यो घाटा रु ३५ अर्ब ४३ करोड रहेको थियो। समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो आय रु ३९ अर्ब ८२ करोड थियो।