इंग्लिस प्रिमियर लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर सिटीको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर सिटीको लज्जास्पद हार

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार राति आर्सनलले म्यानचेस्टर सिटीलाई ५-१ को फराकिलो अन्तरले हराउँदै महत्त्वपूर्ण जित दर्ता गरेको छ। यस जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी घटाएको छ।

खेलको दोस्रो मिनेटमै मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ५५ औं मिनेटमा एर्लिङ हालान्डले बराबरी गोल गर्दै सिटीलाई खेलमा फर्काए पनि एक मिनेटमै थोमस पार्टेले आर्सनलको अग्रता पुनः कायम गरे।

६२ औं मिनेटमा मेल्स लेविस स्केली, ७६ औं मिनेटमा काई हार्भेट्ज र इन्ज्युरी समयको तेस्रो मिनेटमा इथान नोनेरीले गोल थप्दै आर्सनलको प्रभावशाली जित सुनिश्चित गरे।

यो जितपछि २४ खेलबाट आर्सनलको ५० अंक पुगेको छ, भने एक खेल कम खेलेको लिभरपुल ५६ अंकसहित शीर्ष स्थानमा छ। म्यानचेस्टर सिटी भने ४१ अंकमा सीमित रहँदै चौथो स्थानमा छ।

युनाइटेड र टोटेनहमको खेलमा फरक नतिजा

आइतबारकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भयो। प्यालेसका लागि जिन फिलिप माटेटाले दुवै गोल गरे। यसैगरी, टोटेनहमले बेन्टफोर्डलाई २-० ले पराजित गर्दै आठौं खेलमा पहिलो जित दर्ता गरेको छ।