

ललितपुर । ललितपुरमा अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपास्थित दुईवटा घरमा सट्टेबाजी सञ्चालन गरेको आरोपमा १० जना भारतीय नागरिक र १४ जना नेपालीसहित २४ जनालाई पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, प्रहरीलाई अनलाइन बेटिङ भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको टोलीले सानेपामा छापा मारेको थियो।
पक्राउ परेका व्यक्तिहरूले विश्वभर सञ्चालन हुने आठ वटाभन्दा बढी अनलाइन बेटिङ साइटको प्रयोग गरी सट्टेबाजी गरिरहेको पाइएपछि, अनुसन्धानका क्रममा तीन अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँको कारोबार गरेको जानकारी प्राप्त भएको एसपी आचार्यले बताए।
उनीहरूमाथि जुवा खेल्न वा खेलाउन नहुने भन्ने मुलुकी अपराध संहिता २०७४ र विदेशी विनिमय ऐनको उल्लङ्घनको आरोपमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरिएका व्यक्तिहरूसँग थप अनुसन्धान गर्ने जानकारी दिएको छ।