स्वास्थ्य बीमा बोर्डले थप एक अर्ब रकम भुक्तानी गर्‍यो, कुल ६० अर्बभन्दा बढी भुक्तानी पुरा

स्वास्थ्य बीमा बोर्डले थप एक अर्ब रकम भुक्तानी गर्‍यो, कुल ६० अर्बभन्दा बढी भुक्तानी पुरा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गत वर्षको पुरानो दाबी वापत थप एक अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। बोर्डका अनुसार आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको आधारमा १ अर्ब २८ करोड ९२ लाख ९७ हजार ३२८ रुपैयाँ भुक्तानी गरिएको हो।

यो रकम बोर्डको माघ ८ गतेको निर्णयअनुसार, स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका सेवा प्रदायक केन्द्रहरुलाई दोस्रो किस्ताको भुक्तानीको रूपमा पठाइएको हो। बोर्डले गत आवको तेश्रो त्रैमाससम्मको दाबी वापत चालू आवको दोस्रो किस्तामा ३ अर्ब ६८ करोड २९ लाख ३ हजार ६८८ रुपैयाँ भुक्तानी गरिसकेको छ।

बोर्डले चालु आवको तेस्रो त्रैमाससम्म ४ अर्ब ९७ करोड २२ लाख एक हजार १६ रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ। यसरी बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुआतदेखि हालसम्म कुल ६० अर्ब ५० करोड ५९ लाख १९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ।

बोर्डका अनुसार हालसम्म सात प्रदेशका ३२२ सेवा प्रदायक संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन्। प्रमुख अस्पतालहरूमा महाराजगञ्ज शिक्षण अस्पताल, वीर अस्पताल, गंगालाल हृदय रोग उपचार केन्द्र, धुलिखेल अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, सुर्खेत प्रादेशिक अस्पताल, गण्डकी प्रादेशिक अस्पताल, कोशी प्रादेशिक अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर प्रमुख छन्।