काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर घटेको तथ्यांक सार्वजनिक गरेको छ। आइतबार जारी गरेको रिपोर्टअनुसार चालु आर्थिक वर्षको ६ महिनामा (२०८१ पुस) वाणिज्य बैंकहरूको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरूको ८.६१ प्रतिशत र वित्त कम्पनीहरूको ९.५० प्रतिशत रहेको छ।
यो तथ्यांक २०८० पुससँगको तुलना गर्दा स्पष्ट घटबढ देखिन्छ। २०८० पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरूको ११.४९ प्रतिशत र वित्त कम्पनीहरूको १२.७७ प्रतिशत थियो।
यस्तै, २०८१ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत, विकास बैंकहरूको ५.५६ प्रतिशत र वित्त कम्पनीहरूको ६.६६ प्रतिशत रहेको छ। २०८० पुसमा भने वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरूको ८.५५ प्रतिशत र वित्त कम्पनीहरूको ९.६२ प्रतिशत थियो।
२०८१ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत, विकास बैंकहरूको १०.१० प्रतिशत र वित्त कम्पनीहरूको ११.१० प्रतिशत रहेको छ। २०८० पुसमा यो दर क्रमशः ११.३८ प्रतिशत, १३.१४ प्रतिशत र १४.०९ प्रतिशत थियो।