काठमाडौं । सन् २०२५ को पहिलो महिनामा झण्डै ८० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जनवरी महिनामा ७९ हजार ९९१ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि भएको देखिन्छ। सन् २०२४ जनवरीमा ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका थिए।
तर, भारतीय पर्यटकको आगमनमा भने गिरावट देखिएको छ। जनवरी महिनामा भारतबाट २० हजार ४८५ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले कमी हो। सन् २०२४ को सोही महिनामा २४ हजार १३९ भारतीयले नेपाल भ्रमण गरेका थिए। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष भारतमा कुम्भ मेला आयोजना भएकाले भारतीय आगमन प्रभावित भएको अनुमान गरिएको छ।
भारतीय पर्यटक घटे पनि बंगलादेश र चीनबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। जनवरी महिनामा बंगलादेशबाट ५ हजार ४०६ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत धेरै हो। सन् २०२४ को जनवरीमा ३ हजार ६२९ बंगलादेशी पर्यटक नेपाल आएका थिए।
त्यस्तै, चीनबाट पनि पर्यटक आगमनमा सुधार देखिएको छ। जनवरीमा ८ हजार १९१ चिनियाँ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १२.७ प्रतिशतले वृद्धि भएको हो। सन् २०२४ जनवरीमा ७ हजार २६७ चिनियाँ पर्यटक नेपाल आएका थिए। यद्यपि, कोभिड–१९ अगाडिको तुलनामा चिनियाँ आगमन अझै न्यून रहेको छ।
एसियाली पर्यटक आगमनमा मिश्रित परिणाम देखिएको छ। भियतनाम र इन्डोनेसियाबाट आउने पर्यटकको संख्या बढ्दा थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, र दक्षिण कोरियाबाट भने घटेको छ। दक्षिण एसियाली भेगमा बंगलादेशबाट आगमन बढे पनि श्रीलंकाली पर्यटकको संख्या केही घटेको छ। यस वर्ष श्रीलंकाबाट ४०७ पर्यटक नेपाल आएका छन्। पाकिस्तानी र भुटानी पर्यटक आगमनमा पनि वृद्धि भएको देखिन्छ।
यस वर्ष जनवरीमा युरोपबाट आउने पर्यटक संख्या पनि सुधार भएको छ। बेलायतबाट ३ हजार ५२१ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशत धेरै हो। जर्मनीबाट १ हजार ३२१, फ्रान्सबाट १ हजार १०, रुसबाट ६१६ पर्यटक नेपाल आएका छन्।
त्यस्तै, अस्ट्रेलिया–न्युजिल्यान्डबाट आउने पर्यटक संख्या पनि बढेको छ। अस्ट्रेलियाबाट ४ हजार ३०१ पर्यटक आएका छन्, जबकि सन् २०२४ जनवरीमा ३ हजार ४२१ पर्यटक मात्र आएका थिए। अमेरिकाबाट जनवरी महिनामा ८ हजार ६३ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि भएको हो। तर, मध्यपूर्व र अफ्रिकी देशहरूबाट पर्यटक आगमनमा भने गिरावट देखिएको छ।